जनकपुरका मेयर मनाेज साहले कन्या मावि जनकपुरलाई पूर्णरुपमा महिला विद्यालय बनाउने गरे निर्णय : JCNEPALMEDIA

जेष्ठ १२,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले महिला सशक्तिकरण तथा छात्रामैत्री शैक्षिक वातावरण निर्माणका लागि महत्वपूर्ण निर्णय गरेको छ ।

उपमहानगरपालिका वडा नं. ११ स्थित सकल भवन कन्या माध्यमिक विद्यालय लाई पूर्ण रूपमा महिला विद्यालयका रूपमा सञ्चालन गर्ने तयारीसँगै शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ । जनकपुरधाम उपमहानगरका मेयर मनोज कुमार साहको यो निर्णयले कन्या माबिको पुरानो इतिहास फिर्ता भएको बताइएको छ । उपमहानगरपालिकाको शिक्षा समितिबाट पारित निर्णयअनुसार विद्यालयमा महिला शिक्षक तथा महिला कर्मचारीको व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।

नगरप्रमुख साह को विशेष पहलमा उक्त निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाइएको जनाइएको छ । यसअघि विद्यालयमा छात्रीहरूको मात्र भर्ना हुने व्यवस्था भए पनि शिक्षक तथा कर्मचारीतर्फ पुरुषको संख्या उल्लेख्य रहेकाले विद्यालयलाई पूर्ण रूपमा छात्रीमैत्री वातावरणमा सञ्चालन गर्न चुनौती देखिएको थियो । उपमहानगरपालिकाले हालै सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्याका आधारमा दरबन्दी मिलान प्रक्रिया अघि बढाएको थियो । सोही क्रममा अन्य विद्यालयमा कार्यरत महिला शिक्षकहरूलाई सकल भवन कन्या माध्यमिक विद्यालयमा पदस्थापन गरिएको छ भने यहाँ कार्यरत पुरुष शिक्षक तथा कर्मचारीलाई अन्य विद्यालयमा सरुवा गरिएको स्रोतले जनाएको छ ।

उपमहानगरपालिकाका अनुसार विद्यालयलाई नाममात्रको कन्या विद्यालय नभई व्यवहारिक रूपमा पनि पूर्ण महिला विद्यालयका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ । छात्राहरूलाई सुरक्षित, सहज तथा आत्मविश्वासपूर्ण शैक्षिक वातावरण उपलब्ध गराउन महिला नेतृत्व आवश्यक रहेको निष्कर्षसहित यस्तो निर्णय गरिएको बताइएको छ । विद्यालयका वर्तमान प्रधानाध्यापक यसै भदौ महिनामा अवकाश हुने भएकाले तत्काल सरुवा नगरिएको जनाइएको छ । अवकाशपछि विद्यालयमा महिला प्रधानाध्यापक नियुक्त गर्ने तयारीसमेत उपमहानगरपालिकाले गरेको छ ।

यस निर्णयलाई अभिभावक, शिक्षाविद् तथा स्थानीयवासीहरूले सकारात्मक रूपमा लिएका छन् । उनीहरूका अनुसार महिला शिक्षक तथा महिला नेतृत्वको उपस्थितिले छात्रीहरूलाई थप आत्मीय वातावरण मिल्ने, सिकाइमा आत्मविश्वास बढ्ने तथा विद्यालयप्रतिको सहभागिता सुदृढ हुने विश्वास गरिएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA

टिकटकर तुलसा अधिकारीलाई हत्कडीसहित पुर्याए अदालत : JCNEPALMEDIA