दुई नेपाली ‘मस्ट वान्टेड’को सूचीमा : मलेसिया JCNEPAL MEDIA

माघ १०,२०८१ / जेसी नेपाल

काठमाडौं : वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली कामदारलाई त्यहाँको मलाक्का अध्यागमन विभागले ‘मस्ट वान्टेड’ सूचीमा राखेको छ । अध्यागमन विभागले कानुन उल्लंघन गरेर फरार भएको भन्दै दिलबहादुर सिँजाली मगर र रबिना राईलाई ‘मस्ट वान्टेड’ सूचीमा राखेर खोजीकार्य गरिरहेको जनाएको हो ।

विभागले एक विज्ञप्ति जारी गर्दै पासपोर्ट नम्बर ४४५५३८७ भएका सिँजाली मगर र ०८३२२५१ भएका राईको खोजी तीव्र पारिएको छ । विभागले अन्तिमपटक उनीहरू मलेसियाको रुमा बेरलामत दी सी १–१४, रुमाह पङ्सा बचङ् जया, जलान तुन फातिमा, तमन बचङ जय, ७५३५० मेलका भन्ने स्थानमा देखिएको जनाउँदै अहिले उनीहरू बेपत्ता भएको जनाएको छ । उनीहरूमाथि त्यहाँको अध्यागमन विभाग एक्ट १९५९-६३ को बमोजिम अनुसन्धान भइरहेको बताइएको छ ।

उनीहरूको मलेसियाभर खोजीकार्य भइरहेको जानकारी दिँदै अध्यागमन विभागका उप–सहायक निर्देशक मुहम्मद जरिफ बिन रोस्लामले तत्काल अध्यागमन विभाग नेगेरी मेलाकामा ०६–२३२२६६२ एक्सटेन्सन १६९७ वा ०६–२३२२२५ कार्यालय समयभित्र सम्पर्क गर्न अनुरोध गरेका छन् । मलेसियामा साथीभाइसँगको कुलत र छिट्टै धनी बन्ने महत्वाकांक्षाका कारण नेपाली कामदार फस्ने गरेका छन् । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बस्ने, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन् ।

मलेसियास्थित नेपाली दूतावासले मुलुकको कानुन पालना गर्नुपर्ने र पालना नगरेको खण्डमा सजाय भोग्न तयार हुनुपर्ने जनाएको छ । साथै, कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै कारणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत जनाएको छ । मलेसिया आउने नेपालीको संख्या बढेसँगै नेपाली दूतावासले गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न अनुरोध गर्दै आएको छ ।

गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म जेल कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिने गरेको छ । मलेसियाले पछिल्लो समय गैरकानुनी रूपमा बस्ने नेपालीसहित अन्य मुलुकका कामदारमाथि धरपकड गर्दै आएको छ । राजधानी दैनिकबाट

प्रकाशित : माघ १०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA