देउवाको खल्तीबाट गभर्नरमा गुणाकर भट्टको नाम,ओली सहमत : जोगियो गठबन्धन JCNEPAL MEDIA

बैशाख ०४,२०८१ / जेसी नेपाल संवाददाता

सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति गरेका छन्।

नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर डा गुणाकर भट्टलाई बनाउन सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुटेको हो। हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। गभर्नर बन्ने दौडमा रहेका अन्य पाँच जनालाई पछि पार्दै कांग्रेस सभापति देउवाको प्रस्तावमा भट्टले बाजी मार्ने निश्चित भएको हो।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री ओली र सभापति देउवाबीचको छलफलमा भट्टलाई गभर्नर बनाउने सहमति जुटेको देउवानिकट कांग्रेसका एक नेताले जानकारी दिए। ‘आज हाम्रो सभापतिले प्रधानमन्त्रीसमक्ष नयाँ गभर्नरका लागि नाम प्रस्ताव गर्नुभयो। गुणाकर भट्टको नाममा प्रधानमन्त्री पनि सहमत हुनुभएको छ,’ ती नेताले भने। यद्यपि, भट्टसहित तीन जनाको नाम अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मन्त्रिपरिषद्मा पेस गरेपछि गभर्नर नियुक्तिको औपचारिक निर्णय हुनेछ। समितिका सदस्य डा विश्व पौडेल भारत भ्रमणमा छन् र उनी शनिबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ।

त्यसैले सम्भवतः सोमबार मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीले गभर्नरका लागि तीन जनाको नाम प्रस्ताव गर्नेछन्। र, सोही बैठकले भट्टलाई नियुक्त गर्नेछ। गभर्नर बन्ने पक्का भएपछि भट्टले मन्त्रिपरिषदमा नाम जानुअघि राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा गर्न सक्नेछन्।कांग्रेस सभापति देउवा उपचारको क्रममा आइतबार सिंगापुर जाने कार्यक्रम छ। सिंगापुर जानुअघि देउवा गभर्नरको नाम टुङ्ग्याउन चाहन्थे। सोही अनुसार बुधबार सहमति जुटेको कांग्रेसका ती नेताले बताए।

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले बुधबार दिउँसो गभर्नरमा सहमति जुटेको र छिट्टै बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने बताएका थिए। बजारमा सरकार ढल्ने हल्ला चलेपछि मंगलबार बिहान ओली र देउवाबीच बालुवाटारमा एकान्त–वार्ता भएको थियो। देउवानिकट अर्का एक नेताका अनुसार, सभापति देउवाले सोही भेटमा ओलीसमक्ष गभर्नरको नाम प्रस्ताव गरेका थिए। ‘प्रधानमन्त्री ओलीले नाम दिनुहोस् न त भन्दै लचक बन्नुभयो, ती नेताले थपे, अनि हाम्रो सभापतिले गुणाकर भट्टको नाम प्रस्ताव गर्नुभएको हो।

प्रकाशित : बैशाख ०४,२०८१                  ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA