मधेश प्रहरीमा असुली र अराजकता, दुई वर्षमा ६०९ प्रहरी कारबाहीमा : मधेस प्रदेश JCNEPAL MEDIA

साउन ०८,२०८१ / जेसी नेपाल संवाददाता

सर्लाही : मधेश प्रदेशका प्रहरी संगठन भित्रको चरम अव्यवस्था र अनुशासनहीनता पछिल्ला दिनमा खुलेरै सतहमा आएको छ। पछिल्ला दुई आर्थिक वर्षमा मात्र ६०९ प्रहरी विभिन्न अनुशासनहीन कार्यमा संलग्न भएर कारबाहीमा परेका छन्। यीमध्ये अधिकांश तल्लो तहका प्रहरी भए पनि, नेतृत्व तहको उदासीनता र संरक्षण संस्कृति यसका मूल जरा हुन् ,भन्ने स्पष्ट देखिन्छ। सर्लाहीको हिरापुरमा कार्यरत सई बैजनाथ दासले भारतबाट सामान भित्र्याउने तस्करसँग खुलेआम घुस मागेको अडियो सार्वजनिक भएपछि मधेश प्रहरीको ‘चेन अफ कमान्ड’ कति फितलो छ भन्ने तथ्य उजागर भयो।

अडियोमा उनले प्रहरी जवानमार्फत १८ हजार रुपैयाँ मागेका छन् भने, तस्करलाई धम्क्याउने र फकाउने दुवै शैली अपनाएका छन्। यो पहिलोपटक होइन, सई दास यसअघि पनि तस्करीसम्बन्धी प्रकरणमा निलम्बनमा परेका थिए, तर पछि पुनः संवेदनशील स्थानमा खटाइए। एकपटक कारबाहीमा परेका प्रहरीलाई पृष्ठभूमि नहेरी जिम्मेवारी दिइनु आफैंमा संगठनिक कमजोरीको संकेत हो। दासको प्रकरण सेलाउन नपाउँदै सर्लाहीकै अर्का प्रहरी असई मनोज यादव पनि महिला तस्करसँगको मिलेमतोको अडियो सार्वजनिक भएपछि विवादमा परेका छन्। उनलाई पनि अघिल्लो कार्यकालमा निलम्बन गरिएपछि फेरि फर्काइएको थियो। यसैगरी, हरिवनका इन्सपेक्टर किशोर तामाङमाथि लागुऔषध मुद्दा लुकाएको र चेक बाउन्समा पीडकसँग मिलेर मिलापत्र गराएको आरोप छ। उनीविरुद्ध अनुसन्धान जारी छ भने हालै धनकुटा सरुवा गरिएको छ।

घुमुवा (सादा पोसाक) प्रहरीहरूको भूमिका पछिल्ला वर्षहरूमा अपराध नियन्त्रणभन्दा बढी असुलीमा देखिएको छ। वीरगन्जको भन्सार क्षेत्रमा प्लास्टिकको बाल्टिनमा पैसा असुल्ने दृश्यदेखि लिएर, रौतहट, सिरहा, पर्सा, बारा र महोत्तरी, धनुषा सम्मका दर्जनौँ अडियो/भिडियो सार्वजनिक भएका छन्। कतिपय घटनामा जिप चालक, होटल सञ्चालक र व्यापारीबाट खुला घुस मागिएको पुष्टि हुँदा पनि सम्बन्धित प्रहरीलाई उही जिल्लामा काजमा फर्काइएको छ। यो प्रवृत्तिले प्रहरी संगठनलाई अपराधमा संलग्न संरचना बनाउँदै लगेको देखिन्छ। मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी उमा चतुर्वेदी नेतृत्वमा घुमुवा प्रहरीमार्फत व्यापक रकम असुली भइरहेको आरोप लागे पनि उनी आफैंले सबै आरोप अस्वीकार गर्दै कारबाही नछोड्ने बताइरहेका छन्। तर, केन्द्रीय प्रहरी प्रवक्ता र पूर्वआईजीपीहरू समेतले घुमुवाको दुरुपयोग भएको स्वीकार गर्दै सुधारको आवश्यकता औंल्याएका छन्।

यद्यपि, सुधारका नाममा पटक–पटक निर्देशन जारी भए पनि कार्यान्वयनमा ढिलाइ देखिन्छ। पूर्व गृहमन्त्री रवि लामिछानेले सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन दिएका थिए। प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धानबाहेक अन्य युनिटबाट दुई सयभन्दा बढी घुमुवा हटाएको थियो। तर, राजनीतिक पहुँच र संगठनभित्रकै संरक्षणका कारण उनीहरू पुनः उही ठाउँमा फर्किएका छन्। सङ्गठनको नैतिक अधोपतन, अनुशासनको अभाव र पारदर्शिता नहुनुका कारण प्रहरीसँग आम जनताको विश्वास घट्दो छ। तस्करी, घुस, अवैध कारोबारको संरक्षण, लागूऔषध ओसारपसार र मुद्दा लुकाउनेजस्ता गम्भीर आरोपमा संलग्न प्रहरीहरूलाई कारबाही त भएको पाइन्छ, तर त्यसपछि पनि उनीहरूलाई फेरि जिम्मेवारी दिइनु गम्भीर चिन्ताको विषय बनेको छ।

मधेश प्रदेशका भन्सारहरूमा लक्ष्यअनुसारको राजस्व संकलन नहुनु, सीमामा तस्करी मौलाउनु र सर्वसाधारणले प्रहरीकै डर मान्नुका पछाडि यही संस्थागत कमजोरी लुकेको छ। सुधारको घोषणा भन्दा व्यवहारमा स्पष्ट परिणाम ल्याउनेतर्फ सरकार र संगठनले अब कठोर र स्पष्ट कदम चाल्नुपर्ने अवस्था आइसकेको छ।

प्रकाशित : साउन ०८,२०८१                    ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA

आयल निगमको महेन्द्रनगर डीपोमा हाकिम रंजित कापडी पम्पसँग घुस लिएर पेट्रोलियममा अनियमिमता गर्दै : JCNEPAL MEDIA