शिक्षकलाई कुटपिट गरेका वडाध्यक्ष कुशवाहालाई पार्टीको निलम्बन पछि प्रहरीले गरे पक्राउ : JCNEPAL MEDIA

भाद्र ११,२०८२ / जेसी नेपाल संवाददाता

बारा : शिक्षकलाई कार्यालयमा बोलाएर कुटपिट गर्ने एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा माओवादी केन्द्रले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ ।

एक शिक्षकलाई वडा कार्यालयमा बन्धक बनाई निर्घात कुटपिट गरेको घटनामा संलग्न रहेको भन्दै माओवादीले कुशवाहालाई निलम्बन गरेको हो । कुशवाहा माओवादीको पूर्व जिल्ला सदस्य हुन् भने माओवादी केन्द्रबाट २०७९ सालमा निर्वाचित वडाध्यक्ष हुन् । कुशवाहासहित आठ जनाले पर्सा बहुदरमाई घर भई प्रसौनी ६ बेलहीया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई कुटपिट गरेको आरोप छ । मदिरा सेवन गरी यादवलाई नग्न बनाएर वडा कार्यालयमै कुटपिट गरेको भिडियो समेत माओवादीले फेला पारेको छ ।

अराजक गतिविधि र पार्टी अनुशासन उलंघन गरेको भन्दै माओवादी केन्द्रका मधेस इन्चार्ज मातृका यादवले कुशवाहालाई निलम्बन गरेका हुन् । कुशवाहाको पार्टी सदस्यता खारेज गर्न र जिम्मेवारीबाट हटाउन माओवादीको प्रसौनी गाउँ समितिले भदौ ५ गते र बारा जिल्ला समन्वय समितीले भदौ ७ गते प्रदेश समितिलाई पत्र लेखेको थियो । जिल्ला समिती बाराका इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठले विभिन्न पाँच कारण देखाउँदै कुशवाहालाई पार्टी सदस्यता खारेज गर्न माग गरेका थिए । श्रेष्ठले पत्रसहित शिक्षक यादवलाई कुटपिट गरेको भिडियो समेत प्रदेश कमिटीलाई उपलब्ध गराएका थिए ।

कुशवाहाको सदस्यता खारेज गर्न र सम्पूर्ण जिम्मेवारीबाट हटाउन पत्राचार गरेपनि प्रदेश कमिटीले भने ६ महिनाका लागि मात्रै पार्टी सदस्यबाट निलम्बन गरेको हो । यता पीडित शिक्षक यादवले दिएको जाहेरीका आधारमा बारा प्रहरीले वडाध्यक्ष कुशवाहालाई भदौ २ गते नियन्त्रणमा लिएको थियो । प्रहरीले कुशवाहालाई अमानवीय व्यवहारको मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता बिजयराज पण्डितले जानकारी दिए ।

कुशवाहा अहिले बारा प्रहरीको हिरासतमा छन् । कुशवाहा यसअघि पनि चेक अनादर, कुटपिटसहित विभिन्न मुद्दामा संलग्न थिए । बारा जिल्ला अदालतको फैसला आदेश कार्यान्वयन गराउने क्रममा प्रहरीले जेठ ११ गते कुशवाहालाई पक्राउ गरी अदालतमा पेश गरेको थियो ।

प्रकाशित : भदौ ११,२०८१                    ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA