देशमा बढ्यो सुरक्षा खतरा,२७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार : JCNEPAL MEDIA

अशाेज १,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन्। देशका २७ वटा कारागारबाट १४ हजार ५५५ जना कैदीबन्दी फरार भएका थिए। ती मध्ये ५ हजार ४३४ जना पुनः जेल फर्किएको कारागार व्यवस्थापन विभागका प्रवक्ता चोमेन्द्र न्यौपानेले बताए।

उनका अनुसार केही आफैँ र धेरैजसो प्रहरीले पक्राउ गरेर ल्याएको हो। ९ हजार १२१ जना अझै फरार छन्। पक्राउ परेकाहरुलाई पनि अहिले जहाँ पक्राउ परेका हुन्, त्यही जिल्लाको कारागारमा राखिएको छ। केन्द्रीय कारागार सुन्धाराबाट ३ हजार ५२३ जना कैदीबन्दी फरार भएका थिए। ललितपुरको नक्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्ता सहित आन्दोलनकारीले रवि लामिछानेलाई निकालेपछि देशभरका कारागारबाट कैदी भाग्न थालेका थिए।

सुन्धारा कारागारमा पनि नक्खुकै कैदीबन्दी आएर तोडफोड गरेका थिए। नक्खु कारागारबाट कैदी भागेको केही समयपछि सुन्धारा कारागारमा तोडफोड सुरु भएको थियो। सुन्धारा कारागारबाट भागेका १ हजार १३४ जना कैदीबन्दी फिर्ता भइसकेका छन्। यीमध्ये २१० जनालाई विभिन्न जिल्लामा प्रहरीले पक्राउ गरेर त्यही जिल्लाका कारागारमा राखेको छ। फरार रहेका केही कैदीबन्दी पनि आफै फर्किने भन्दै कारागारको सम्पर्कमा आएका छन्। पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि बुधबारसम्ममा फर्किने तयारीमा छन्।

पूर्वगृहसचिव टेकनारायण पाण्डेले पनि चाँडै फर्किने भनेका छन्। यस्तै ३३ किलो सुन प्रकरणमा जोडिएका व्यक्तिको हत्या अभियोगमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका चुडामणि उप्रेती उफ गोरे र सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेल फर्किइसकेका छन्। नक्खु कारागारबाट फरार भएका रवि लामिछाने र सञ्जय टकला कारागार फर्किसकेका छन्। लामिछाने आफै कारागार फर्किएका हुन् भने टकलालाई प्रहरीले काभ्रेबाट पक्राउ गरेर ल्याएको हो।

यता काठमाडौँकै डिल्लीबजारस्थित कारागार आगजनी र तोडफोड गरे पनि कैदीबन्दी भने फरार हुन पाएनन्। कारागारबाट बाहिर सडकमा पुगिसकेका कैदीबन्दीलाई नेपाली सेनाले फिर्ता गरेको हो। सेनाले उनीहरुलाई बल प्रयोग नगरी सम्झाइबुझाइ गरेर फर्काएको थियो। केही कारागारमा भने सेनाले गोली चलाएका थियो। बाँकेको बालसुधार गृहबाट भागेका कैदीबन्दीलाई रोक्ने क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको छ। यस्तै धादिङ र रामेछापका कारागारबाट कैदी भाग्न थालेपछि नेपाली सेनाले गोली चलाएको छ।

धादिङमा २ जना र रामेछाप कारागारमा ३ जना कैदीबन्दीको मृत्यु भएको छ। कैदी भागेका २७ कारागार देशका ७५ वटा जिल्लामा कारागार रहेकामा २७ वटा कारागारबाट कैदीबन्दी फरार भएका छन्। सुनसरीको झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल (सुन्धारा), मकवानपुरको भीमफेदी, रसुवा, चितवन, तनहुँ र कास्की कारागारबाट कैदीबन्दी फरार भएका छन्। यस्तै पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्जनपुरबाट पनि कैदीबन्दी फरार भएका छन्। कैदीबन्दी फरार भएसँगै समाजमा असुरक्षाको महसुस भएको र त्यसमा प्रहरी सचेत रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए। आन्दोलनको बीचमा दुई दिन प्रहरी ड्युटीमा खटिन नसक्दा समाजले प्रहरीको महत्त्व महसुस गरेको र कार्यालयहरु बनाउन सहयोग गरेर अहिले प्रहरी फर्काउन आतुर देखिएको घिमिरेले बताए।

देशभर प्रहरीका भवन, सवारी साधानमा अगजनीबाट क्षति पुगेको छ। क्षतिको विवरण संकलन गर्न प्रहरीले डीआईजी दीपक रेग्मीको नेतृत्वमा समिति बनाएको छ। प्रहरीका सवारीमा पनि व्यापक आगजनी गरिएको छ। सयौँ हतियार र बर्दी समेत लुटिएका छन्। प्रहरी पुग्न नसकेका स्थानमा स्थानीयले रातिको समयमा आफै गस्ती गरिरहेका छन्। यस्तै ध्वस्त भएका प्रहरी कार्यालयहरु वैकल्पिक स्थानमा स्थापना गर्न थालिएको छ। स्थानीयले नै प्रहरीका लागि आवासको व्यवस्था गर्न थालेका छन्। ‘चाडपर्व पनि आइरहेको छ। प्रहरीको अवस्था देख्नु भएकै छ। यही बेलामा कैदीबन्दीहरु पनि फरार भएको अवस्था छ।

नागरिक अलिक बढी सचेत हुनु पर्ने अवस्था छ। प्रहरीले पनि नागरिकको सुरक्षाका लागि जस्तोसुकै अवस्थामा पनि काम गर्छ,’ डीआईजी घिमिरेले भने। अहिले सडकमा प्रहरी आफूसँग जे–जति पोसाक बाँकी छ त्यसैमा खटिन थालेको छ। अन्तरिम सरकारसँग प्रहरीले भौतिक संरचना तयार हुन समय लागे पनि तत्कालै प्रहरीको मनोबल उकास्ने निर्णय गर्न जरुरी रहेको बताएको छ।

प्रकाशित : अशाेज १,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

भारतकाे रामपुरमा शारिरिक संभाेगकै क्रममा घाँटी थिचेर हत्या,अर्धनग्न नै छाेडेर भागे : JCNEPAL MEDIA

पूजा ठाकुरको 'दहेज' सर्ट फिल्म रिलिज ,बाईककै लागि बिहे गर्ने मधेशको प्रवृतिमा अधारित : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA