नोबेल अस्पतालनजिकका ७ वटा औषधि पसलमा तालाबन्दी : विराटनगर JCNEPALMEDIA

पुस २६,२०८२/ जेसी नेपाल संवाददाता

विराटनगर : विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पताल आसपासमा बिरामी ठग्ने काममा संलग्न रहेको पुष्टि भएपछि ७ वटा औषधि पसल (फार्मेसी)मा शुक्रबार ताला लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दै गम्भीर अनियमितता भेटिएपछि फार्मेसीहरू तत्काललाई सिल गरेको हो।

अस्पतालनजिक सञ्चालनमा रहेका १४ वटा फार्मेसीमा एकैपटक अनुगमन गरिएको थियो। अनुगमनका क्रममा कानुनविपरीत औषधि बिक्री, बिना दर्ताका विदेशी औषधि राखिएको, म्याद सकिएका औषधि बिक्रीका लागि तयारी अवस्थामा राखिएको तथा चिकित्सकले नलेखेका औषधिसमेत बिरामीलाई जबर्जस्ती दिइएको भेटिएको प्रशासनले जनाएको छ।

यस्ता क्रियाकलापले बिरामीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने निष्कर्ष निकाल्दै ७ वटा फार्मेसीमा ताला लगाइएको हो। सिल गरिएका फार्मेसीहरूमा सीताराम, छिन्नमस्ता, धनगढी माई मेडिकल, सुसंस्कृति, गोल्ड, मित्र र आविष्कार रहेका छन्। औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दीपेन्द्र खड्काका अनुसार सिल गरिएका फार्मेसीहरूले औषधि बिक्रीसम्बन्धी आधारभूत कानुनी मापदण्डसमेत पालना नगरेको पाइएको छ। मूल्यमा मनपरी असुली गरिएको, बिरामीलाई आवश्यक नपर्ने औषधि समेत किन्न बाध्य बनाइएको र ठगी गरेको स्पष्ट प्रमाण भेटिएपछि कडा कदम चाल्नुपरेको उनको भनाइ छ। अनुगमनकै क्रममा मित्र फार्मेसीबाट बिरामीलाई अनावश्यक औषधि थमाइएको, अत्यधिक मूल्य लिइएको र गलत परामर्श दिइएको तथ्य खुलेको विभागले जनाएको छ।

बिरामी र उनीहरूका आफन्तबाट निरन्तर गुनासो आएपछि प्रशासनले यो विषयलाई गम्भीर रूपमा लिएको पनि खड्काले स्पष्ट पारे। सरकारी निकायले तत्काल कारबाही गरेपछि स्थानीय र बिरामीका आफन्तहरूले प्रशासनको कदमलाई स्वागत गरेका छन्। विभागले सिल गरिएका फार्मेसी सञ्चालकहरूमाथि औषधि ऐनअनुसार थप अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाइने जनाएको छ।

नोबेल शिक्षण अस्पतालजस्तो ठूलो उपचार केन्द्र वरिपरि बिरामीको असहायताको फाइदा उठाएर हुने ठगी मान्य नहुने भन्दै प्रशासनले नियमित अनुगमन र कडा निगरानीलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित : पुस २६,२०८२               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA

आयल निगमको महेन्द्रनगर डीपोमा हाकिम रंजित कापडी पम्पसँग घुस लिएर पेट्रोलियममा अनियमिमता गर्दै : JCNEPAL MEDIA