टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

बैशाख ०५ ,२०८३ / जेसी नेपाल संवाददाता

जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घटना जलेश्वरस्थित नेपाली सेनाको ब्यारेक नजिकै भएको हो। दुर्घटनामा मृत्यु हुनेमा धनुषाको जनकपुर उपमहानगरपालिका–२० बस्ने अन्दाजी ४१ वर्षीया सकुन्तला देवी र महोत्तरीको एकडारा गाउँपालिका–३ बस्ने तपेश्वर मलिकका ३३ वर्षीय छोरा राहुल मलिक रहेका छन्।

दुवै जनाको शव प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा टेम्पु चालक महोत्तरी जलेश्वर नगरपालिका–११ बस्ने अन्दाजी ५२ वर्षीय हरेन्द्र ठाकुर रहेका छन्। उनको अवस्था गम्भीर रहेको र प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। त्यस्तै, महोत्तरी एकडारा गाउँपालिका–३ बस्ने ४३ वर्षीया फेकनी देवी मलिक (तपेश्वर मलिककी श्रीमती) लाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर रिफर गरिएको छ, उनको अवस्था पनि गम्भीर रहेको छ। यसैगरी, धनुषाको जनकपुर उपमहानगरपालिका–१२ बस्ने रामबाबु मलिकका १७ वर्षीय छोरा धिरज मलिकको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ, उनको अवस्था मध्यम रहेको छ।

अर्की घाइते धनुषाकै जनकपुर उपमहानगरपालिका–२० बस्ने १४ वर्षीया रिया पण्डित (सकुन्तला देवीकी छोरी) को पनि प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ र उनको अवस्था गम्भीर रहेको जनाइएको छ। सडक किनारमा रहेको रुख एक्कासी ढल्दा गुडिरहेको टेम्पुमाथि खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

घटनापछि स्थानीयवासी, प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। साथै, स्थानीयवासीले सडक छेउका जोखिमपूर्ण रुखहरूको व्यवस्थापनमा लापरवाही हुँदा यस्ता घटना दोहोरिने गरेको गुनासो गरेका छन्।

प्रकाशित : बैशाख ०५,२०८३               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA