कालापानी वनक्षेत्रमा बस्ती हटाउने प्रयासपछि बर्दिबास तनावग्रस्त, वनकाे गाडी जलाइए, राजमार्ग अवरुद्ध : JCNEPALMEDIA

जेष्ठ १२,२०८३ / जेसी नेपाल संवाददाता

महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा बस्ती हटाउने प्रशासनको प्रयासपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग तथा बीपी राजमार्ग प्रभावित हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन् । प्रशासनले करिब ५० वर्षदेखि बसोबास गर्दै आएको भनिएको कालापानी वन क्षेत्र खाली गराउने तयारी थालेपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन् । सोमबार साँझ बस्ती खाली गराउने विषयमा सूचना दिन पुगेका वन कर्मचारीलाई स्थानीयले राति अबेरसम्म नियन्त्रणमा राखेका थिए ।

त्यसपछि स्थानीयले रातिदेखि नै बीपी राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन सुरु गरेका हुन् । आन्दोलनका क्रममा प्रदर्शनकारीले वन कार्यालयको एउटा गाडीमा आगजनी गरेका छन् । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रका अनुसार आगजनीबाट गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनापछि क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ । प्रहरीले हस्तक्षेप गरी राति अवरुद्ध सडक खुलाउनुका साथै स्थानीयको नियन्त्रणमा रहेका वन कर्मचारीलाई उद्धार गरेको जनाएको छ ।

तर मङ्गलबार बिहानदेखि पुनः स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन जारी राखेका छन् । पूर्व वडा सदस्य तथा स्थानीय युवा नेता गणेश बस्नेतले वैकल्पिक व्यवस्थाबिनै बस्ती हटाउन खोजिएकाले स्थानीय आन्दोलित भएको बताए । स्थानीयवासीले आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट जबर्जस्ती हटाउन खोजिएको भन्दै विरोध जनाएका छन् । वडा अध्यक्ष विराट विष्टले बसोबासको सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने बताए । “सरकार र प्रशासनबाट बस्ती नउठाउने स्पष्ट प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहन्छ,” उनले भने । स्थिति तनावग्रस्त बनेपछि कालापानी क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रशासनले सडक खुलाउने प्रयास गरिरहेको भए पनि स्थानीयको विरोधका कारण अवस्था सामान्य बन्न सकेको छैन ।

आन्दोलनकारी र सुरक्षाकर्मीबीच केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिम्सिनाले हाल स्थिति नियन्त्रणमै रहेको बताए । उनका अनुसार राति नियन्त्रणमा लिइएका केही प्रदर्शनकारीलाई पछि नगरप्रमुख प्रह्लाद क्षेत्रीको जिम्मामा छाडिएको हो । स्थानीयले माग सम्बोधन नगरी बल प्रयोग गरेर हटाउन खोजिए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरूले वार्तामार्फत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित : जेष्ठ १२, २०८३              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA