रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणबारे भाजपाले जारी गरेकाे वक्तव्य : JCNEPALMEDIA

जेष्ठ १८,२०८३ / जेसी नेपाल संवाददाता

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको एक प्रतिनिधिमण्डल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सोमबार भारत भ्रमणमा जाने भएको छ।

रास्वपाले अहिलेसम्म औपचारिक जानकारी नदिएको यो भ्रमणबारे भारतको सत्तारूढ भाजपाले आइतबार विज्ञप्ति जारी गरेर आधिकारिक जानकारी सार्वजनिक गरेको हो। भ्रमण क्रममा रास्वपा प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भाजपा अध्यक्ष नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा उल्लेख नभए पनि रास्वपा सभापति लामिछाने नेतृत्वको टोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायत नेताहरूसँग भेटवार्ता गर्ने स्रोतले बताएको छ। स्रोतका अनुसार उनीहरूसँग भेट्ने समय भने तय भइसकेको छैन। नेपाल-भारत सम्बन्धमा देखिएको अनिश्चितताबीच हुन लागेको यो भ्रमणमा रास्वपा सभापति लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा पनि भारत जान लागेको पार्टी स्रोतले जानकारी दियो। भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द हुनु र नेपालका नवनिर्वाचित प्रधानमन्त्रीको परम्परागत भारत भ्रमण पनि टुंगो नलाग्नुले दक्षिणी छिमेकीसँगको सम्बन्धलाई लिएर प्रश्न उठ्न थालेका बेला सत्तारूढ दलको भारत भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।

यसअघि फागुन २१ को निर्वाचनमा रास्वपाले झन्डै दुई–तिहाइ बहुमत प्राप्त गरेपछि भारतीय प्रधानमन्त्री मोदीले फोन गरेर सभापति लामिछानेलाई बधाई दिएका थिए। त्यही बेला भारत भ्रमणको कुरा पनि भएको स्रोत बताउँछ। सभापति लामिछानेको भेटवार्तामा रास्वपा र भाजपाबीच सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल हुने भाजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डा. विजय चौथाइवालेले जारी गरेको विज्ञप्ति अनुसार यो भ्रमणले रास्वपा र भाजपाबीच पार्टी-टू-पार्टी सहकार्य सुरू गर्ने उद्देश्य राखेको छ। साथै, संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान गर्ने अपेक्षा गरिएको छ। भाजपाले रास्वपा प्रतिनिधिमण्डलसँग रचनात्मक संवाद हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित : जेष्ठ १८, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA