धनुषाका स्थानीय तहमा आम्दानीभन्दा पदाधिकारीको सेवासुविधामा बढी खर्च,महालेखापरीक्षकको कार्यालयकाे विवरण : JCNEPALMEDIA

जेष्ठ २१,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाका स्थानीय तहका पदाधिकारीहरुको सेवासुविधामा भएको खर्च आन्तरिक आम्दानीको तुलनामा उल्लेखनीय रूपमा बढी छ।

औरही गाउँपालिका लगायतका ९ तहमा सेवासुविधामा ३ सय प्रतिशतभन्दा बढी रकम खर्च गरिएको पाइएको छ। अधिकांश स्थानीय तहहरू संघीय तथा प्रदेश सरकारको अनुदानमा निर्भर रहँदा आन्तरिक आम्दानी कमजोर देखिएको छ। धनुषाका अधिकांश स्थानीय तहका पदाधिकारीले आ-आफ्नो पालिकाको आन्तरिक आम्दानीभन्दा बढी रकम सेवासुविधाको नाममा लिँदा आर्थिक भार थपिएको छ । मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षलगायतका जनप्रतिनिधिले कानुनी व्यवस्था अनुसार नै १२ प्रकारको सेवासुविधाअन्तर्गत लाखौँ रकम पाउने भएपछि आर्थिक भार थपिएको हो।

धनुषामा १८ वटा स्थानीय तह रहेकोमा महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार अधिकांश स्थानीय तहको आन्तरिक आम्दानीभन्दा पदाधिकारीको सेवासुविधामा मात्र बढी रकम खर्च भएको हो । महालेखापरीक्षकको कार्यालयले १५ वटा स्थानीय तहको आन्तरिक आम्दानी र पदाधिकारीहरुमा हुने खर्चको विवरण सार्वजनिक गरेकोमा ९ वटा स्थानीय तहका पदाधिकारीको सेवासुविधामा खर्च हुने रकमभन्दा आन्तरिक आम्दानी कम छ ।

आन्तरिक आम्दानीभन्दा पदाधिकारीको सेवासुविधामा बढी खर्च गर्ने स्थानीय तहमा औरही गाउँपालिका, नगराइन नगरपालिका, मिथिला बिहारी नगरपालिका, शहिदनगर नगरपालिका, जनकनन्दिनी गाउँपालिका, बटेश्वर गाउँपालिका, धनौजी गाउँपालिका, कमला नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिका रहेको छ । यी स्थानीय तहमा आन्तरिक आम्दानीको तुल्नामा ३ सय प्रतिशतभन्दा बढी रकम पदाधिकारीको सेवासुविधामा खर्च गर्ने गरेको छ । आन्तरिक आम्दानीको तुल्नामा पदाधिकारीको सेवासुविधामा सबैभन्दा बढी रकम खर्च गर्नेमा औरही गाउँपालिका रहेको छ ।

यस स्थानीय तहको आन्तरिक आम्दानी गत आव २०८१।८२ मा २३ लाख ९९ हजार रहेकोमा ४८ जना पदाधिकारी र सदस्यहरुलाई सेवासुविधामा ८१ लख ९ हजार रकम खर्च गरेको हो । यस्तै, नगराईन नगरपालिकाको आन्तरिक आम्दानी ३७ लाख १८ हजार ७३ रुपैयाँ रहेकोमा गत आवमा पदाधिकारीको सेवासुविधामा १ करोड १४ लाख ५१ हजार ५ सय रुपैयाँ गरेको छ । मिथिला बिहारी नगरपालिकाको आन्तरिक आम्दानी ५५ लाख ८१ हजार ३११ रहेकोमा पदाधिकारीको सेवासुविधामा १ करोड ३७ लाख ६० हजार ६ सय खर्च भएको छ । शहिदनगर नगरपालिकाको आन्तरिक आम्दानी ४६ लाख १९ हजार २१४ रुपैयाँ रहेकोमा पदाधिकारीको सेवासुविधामा १ करोड ४ लाख ५७ हजार रुपैयाँ खर्च भएको हो ।

सबैला नगरपालिका, हंसपुर नगरपालिका, लक्ष्मिनीयाँ गाउँपालिका, मिथिला नगरपालिका, गणेशमानचारनाथ नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको पदाधिकारीको सेवासुविधामा खर्च भएको रकमभन्दा आन्तरिक आम्दानी बढी रहेको छ । जनकपुरधाम उपमहानगरपालिकाको कुल आन्तरिक आम्दानीको १९.३६ प्रतिशत रकम पदाधिकारीको सेवासुविधामा खर्च हुने गरेको छ । यस सम्बन्धी पूर्ण विवरण तलको तालिकामा उल्लेख गरिएको छ । मधेस प्रदेश सरकारले बनाएको ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७७’ अनुसार जनप्रतिनिधिलाई मासिक तलबको व्यवस्था नगरेपनि उनीहरुको सेवासुविधामा मासिक लाखौँ रकम खर्च हुनेगरी ऐनमै व्यवस्था गरेको छ ।

ऐन अनुसार जनप्रतिनिधिले सवारी इन्धन, मोबिल, यातायात खर्च, पत्रपत्रिका, इन्टरनेट, टेलिफोन, मोबाइल रिचार्ज, अतिथि सत्कार, अनुगमन भत्ता, चाडपर्व खर्च, बैठक भत्ता, दैनिक भ्रमण भत्ता, विदेश भ्रमण भत्ता र यात्रा बिमा शुल्क (प्रिमियम) बुझ्ने गरेका छन् । स्थानीय तहहरूले भूमि कर, वहाल कर, सिफारिस दस्तुर, न्यायिक दस्तुर, दण्ड जरिवाना, नक्सापास दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुरलगायतका शीर्षकबाट आन्तरिक आम्दानी संकलन गर्ने गरेका छन् ।

तर अधिकांश पालिकामा उठेको राजस्वभन्दा जनप्रतिनिधिको पारिश्रमिक, बैठक भत्ता, सञ्चार, इन्धन तथा अन्य सेवा-सुविधामा बढी रकम खर्च भएको देखिएको छ । तथ्यांकअनुसार आन्तरिक आम्दानी कमजोर रहेका स्थानीय तहहरू संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा बढी निर्भर छन् ।

प्रकाशित : जेष्ठ २१, २०८३       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA