राजधानीकै ठूला पसलमा तस्करीको सुन : काठमाडौं JCNEPAL_MEDIA

श्रावण २७,२०८१/ जेसी नेपाल संवाददाता

शिवकुमार / काठमाडौं

काठमाडौं : अन्तर्देशीय संगठित गिरोहले भित्र्याएको तस्करीको सुन काठमाडौं उपत्यकाभित्र र बाहिरका सुनचाँदी पसलमार्फत व्यवस्थापन भएको खुलिसक्दा पनि अनुसन्धानको जिम्मेवारी पाएको सीआईबीले बृहत् अनुसन्धान अघि बढाएको छैन ।

विद्युतीय चुरोट (भेप) र ब्रेक सुजस्ता उपकरणमा लुकाएर गत वर्ष ल्याइएको सुनसमेत नेपालकै सुनचाँदी पसलले किनेर सर्वसाधारणलाई बेचेको प्रहरी अनुसन्धानबाटै खुलेको थियो । पक्राउ परेका व्यक्तिहरूले तस्करीको सुन अरू पसलमा पनि व्यवस्थापन गरिएको बताएका थिए । तिनीहरूमाथि अनुसन्धान नगरी सीआईबीका तत्कालीन प्रमुख श्याम ज्ञवालीले प्रतिवेदन बुझाएका थिए ।

आर्थिक वर्ष २०७९/८० मा मात्रै चिनियाँ तस्करले भेप, ब्रेक सु र विद्युतीय उपकरणलगायतमा लुकाएर करिब ३५ क्विन्टल सुन भित्र्याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको थियो । यसरी भित्रिएको सुनको भारत निकासी हुन्छ भन्ने भ्रम छ, तर भन्सार छलेर ल्याइएको सुन नेपाली सर्वसाधारणलाई समेत बेचिएको बयान पक्राउ परेका व्यक्तिहरूले नै दिएका छन् ।

अवैध सुन व्यवस्थापनमा लक्की ज्वेलर्स, महाकाली ज्वेलर्स, पशुपति ज्वेलर्स, मुक्तिनाथ सुनचाँदी पसल, जय सन्तोषी माँ सुनचाँदी ज्वेलर्सको नाम खुलेको छ । त्यस्तै जागेश्वरी ज्वेलर्स, श्रीराम गुल्मेली सुनचाँदी पसल, आशापुरी ज्वेलरी, त्रिशक्ति क्रिएसन, गढीमाई ज्वेलर्स, शिवम् ज्वेलर्स, गजानन ज्वेलर्स र हरेराम हरे कृष्ण सुनचाँदी पसलका सञ्चालक तथा कर्मचारी पनि तस्करीका सुन जानाजान खरिदमा संलग्न भएको सीआईबीकै अनुसन्धानमा पाइएको थियो ।

भेप र ब्रेक सुलगायतमा लुकाएर गरिएको सुन तस्करीबारे जाँचबुझ गर्न २०८० असोजमा सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो । जाँचबुझका क्रममा व्यक्तिलाई पक्राउ नै गर्नसम्मको अधिकार आयोगलाई थियो । तर सुन पसलबाट भएका गैरकानुनी कारोबारमाथि जाँचबुझ नगरी आयोगले त्यसअघि सीआईबीले गरेको अनुसन्धान प्रतिवेदन वरिपरि मात्रै अलमलियो ।

त्यसैले तस्करीबाट आएको सुन कहाँ गयो भन्ने खुट्याउन आयोग पनि असफल भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर बाहिर निकालिएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागले २०८० साउन २ मा सिनामंगलबाट बरामद गरेको थियो । त्यसमाथि सीआईबीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० भदौ ३१ मा २९ जनाविरुद्ध ३ अर्ब ५० करोड २ लाख बिगो मागदाबी गरेर जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

सुन तस्करीको अनुसन्धानका क्रममा आरोपित जीवन चलाउनेसहितलाई पक्राउ नगरेको भन्दै जाँचबुझ आयोगले प्रतिवेदनमा उल्लेख गरेपछि गत चैत पहिलो साता सरकारले सीआईबी प्रमुख किरण बज्राचार्यसहित अनुसन्धान अधिकृतहरू प्रहरी प्रधान कार्यालय सारिएको थियो भने श्यामलाल ज्ञवाली सीआईबी प्रमुख बनाइएका थिए ।

आयोगको सिफारिसअनुसार थप अनुसन्धान गर्ने क्रममा पनि पहिले छुटाइएका भनिएका व्यक्तिहरू पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन, अध्यागमनका तत्कालीन महानिर्देशक झलकराम अधिकारी, पूर्वउपराष्ट्रपतिका परराष्ट्रविज्ञ जीवन गुरुङमाथि सोधपुछसमेत भएन । अझ फरार रहेका जीवन चलाउनेले त आफूसँग ज्ञवालीले पहिले नै पैसा मागेको भन्दै सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता पनि दिए ।

प्रकाशित : श्रावण २७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA